News update japan

नक्कली जाइर्यु कार्ड बनाई बिक्री गर्ने व्यक्ति पक्राउ

टोकियो– नक्कली रेसिडेन्स कार्ड बनाएर बिक्री गर्ने धन्दामा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जापानको साइतामा केनस्थित कावागुचीमा बस्दै आएका ति व्यक्तिले जापानी जाइर्यु कार्ड लगायतका परिचयपत्रहरु घरमै बनाएर बेच्ने गरेको प्रहरीलाई उधृत गर्दै सान्केइ सिन्बुनले खबर लेखेको छ ।

जापानको अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा उनी सोमबार नियन्त्रणमा परेका हुन् ।

२७ बर्षिय ती चिनियाँ नागरिकले विदेशीहरुका लागि आवश्यक पर्ने रेसिडेन्स कार्ड, विमा कार्ड, माइनम्वर, पेन्सन कार्ड लगायतका कार्डहरु नक्कली बनाएर विक्री गर्दै आएका थिए ।

एउटा वेवसाइट बनाई अनलाइनमार्फतनै कारोबार गर्दै आएको र उनको संजाल जापानभर नै रहेको इमिग्रेशनका अधिकारीहरुको ठम्याई छ । प्रहरीले उनको कोठाबाट ल्यापटप, ल्यापटप र अरु डिभाइसमा राखिएका डेटाहरु, होलोग्राम शिल लगायतका सामग्रीहरु बरामद गरेको छ । उनले आफ्नो संजाल विस्तारका लागि सामाजिक संजाल (एसएनएस)को पनि प्रयोग गर्नेगरेको खुलेको छ ।

हाल जापानमा विना भिसा बसोबास गरिरहेका उनी सन् २०१५ को डिसेम्वरमा विद्यार्थी भिसामा जापान आएका थिए ।

सान्केइले लेखेको समाचार अनुसार उनले एजुकेन, तेजुकेन, पेन्सन कार्ड, स्वास्थ्य विमा, माइनम्वर कार्ड जस्ता कार्डहरु हुबहु बनाई विक्रि गर्दै आएको बुझिएको छ । यही डिसेम्बर र जनवरी महिनाभित्र मात्र सय भन्दा बढि यस्ता नक्कली कार्ड बनाएर विक्रि गरेको र उनले चिनियाँ सहित इण्डोनेसिया, भियतनामी नागरिकहरुलाई समेत त्यस्ता परिचयपत्रहरु बेचेको स्वीकारेका छन् । उनले हालसम्म करीव ५ हजार भन्दा बढि यस्ता कार्ड बनाई विक्रि गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

एउटा कार्डको ११ हजार येनमा विक्रि गर्दै आएको तथ्य पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनको ठूलो आपराधिक गिरोहसंग मिलेमतो रहेको हुन सक्ने आशंमा यस घटनामा थप अनुसन्धान जारी राखेको बताएको छ ।

स्मरण रहोस् नेपालको नक्कली लाइसेन्स बनाई जापानमा ड्राइभिङ लाइसेन्स निकाल्ने कसुर गरेको अभियोगमा केही महिना पहिले टोकियोबाट एक नेपाली समेत पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *